- सवै कर्मचारीले हातमा कालोपट्टी बाँधेर काम गर्ने
प्यूठान : कर्मचारीलाई कुटपिट भएपछि आन्दोलनमा उत्रिएका झिमरुक गाउँपालिका मच्छिका कर्मचारीहरुको आन्दोलनमा प्यूठानका सवै स्थानीय तहका कर्मचारीहरुले एक्यवद्धता जनाएका छन् । विहिवार जिल्लाका सवै प्रमुख प्रशासकीय अधिकृतहरुको संयूक्त बैठकले आन्दोलनमा एक्यवद्धता जनाउने निर्णय भएको प्रेस विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।
शुक्रवार स्थानीय तहमा कार्यरत सवै कर्मचारीहरुले हातमा कालोपट्टी बाँधेर काम गर्ने भएका हुन् । तर, झिमरुक गाउँपालिकाका कर्मचारीहरुले बुधवारदेखि अत्यावश्यक बाहेकका सवै कामहरु ठप्प पारेका छन् ।

स्वर्गद्धारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम गैरे, ऐरावती गाउँपालिकाका हिरालाल भण्डारी, सरुमारानीका देविराम पाठक, मल्लरानीका महेश केसी, माण्डवीका प्रकाश पाण्डे, नौवहिनीका शिवराज पौडेल र प्यूठान नगरपालिकाका निमित्ति प्रमुख प्रशासकीय अधिकृत चन्द्र जिसीले संयूक्त विज्ञप्ती जारी गर्दै डर, धाक र धम्की दिई गैर कानुनी गतिविधिबाट काम गराउन सकिन्छ भन्ने मानसिकताले थप जटिलता उत्पन्न हुने जनाएका छन् । प्रमुख प्रशासकीय अधिकृतहरुले दोषीउपर कानुनी कारवाहीको माग समेत गरेका छन् ।