प्यूठान : गाउँपालिकाको बेरुजुलाई निरन्तर दुई वर्षसम्म शून्य बनाउन महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको भन्दै मल्लरानी गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापा र हालसम्म निरन्तर कार्यरत लेखा अधिकृत कमानसिँह केसी सम्मानित भएका छन् । गाउँपालिकाको आइतवार खलंगामा आयोजित १३ औँ गाउँसभाको अधिवेशनमा उनीहरुलाई नगद १५ हजार, सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको छ ।
महालेखा परीक्षकको ५९ र ६० औँ प्रतिवेदन अनुसार गाउँपालिका निरन्तर देशभरै शून्य बेरुजु बनाउनेमा थियो । ६० औँ प्रतिवेदन अनुसार देशभरमै प्यूठानका दुई पालिका मल्लरानी र सरुमारानी गाउँपालिका मात्र शून्य बेरुजु बनाउनेमा छन् । यी दुई पालिकाको देशभरमै चर्चा चुलिएको थियो ।
बेरुजु शून्य बनाउनका लागि कार्यरत कर्मचारीहरुको भूमिका सवैभन्दा बढी हुने भएकाले कार्यालय प्रमुख र आर्थिक प्रशासन शाखा प्रमुखको हैसियतमा कर्मचारीलाई पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले बेरुजु शून्य बनाउन महत्वपूर्ण भूमिका र जिम्मेवारी पुरा गरेको भन्दै लेखापाल शंकर प्रसाद घिमिरेलाई पनि सम्मान गरेको छ । समग्र गाउँपालिकाको कार्यसम्पादन मूल्यांकनको आधारमा सव इन्जिनियर टेकनारायण पोखरेल सम्मानित भएका छन् ।