बुटवल : सुत्केरीको मृत्युपछि आक्रोशित आफन्तहरुले डाक्टरलाई कुटपिट गरेपछि बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा)मा बुधवार आक्समिक बाहेकको सेवा ठप्प पारिएको छ । अस्पतालमा भर्ना भएका विरामीहरु बाहेक नयाँ विरामीहरुको उपचार गरिएको छैन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र बस्याललाई छलफल चलिरहेका बेला अस्पताल परिसरमै मृतकका आफन्तहरुले कुटपिट गरेका थिए । मंगलवार गुल्मीको सत्यवती गाउँपालिका वडा नम्वर ३ ठूलोलुम्पेककी ३५ वर्षिय भवानी रास्कोटीको मृत्यु भएको थियो । बच्चा सकुसल जन्मिएपनि आमाको केही समयपछि मृत्यु भएको हो ।
कुटपिटपछि घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आइसियूमा उपचार चलिरहेको छ । नेपाल चिकित्सक संघले दोषीलाई तत्काल पक्राउ गरी कानुन अनुसार कारवाहीको माग गरेको छ । प्रहरीकै अगाडी कुटपिट गर्नु मानव अधिकारको जघन्य अपराध भएको चिकित्सक संघले विज्ञप्ती मार्फत भनेको छ । दोषीलाई उनमूक्ती नदिन संघका महासचिव एवं आम्दा अस्पतालका बरिष्ठ बालरोग विशेषज्ञ डाक्टर सन्तोष पोखरेलले बताए ।
घटनामा संलग्न सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक दान बहादुर थापाले जानकारी दिए ।