बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई एशियाली विकास बैंक (एडिबी) ले तीन अर्ब २५ करोड रुपैयाँ अनुदान र सहुलियत ऋण दिने भएको छ । नगरपालिका र एडिबीबीच उक्त रकम बरावरको योजना संचालनका लागि सम्झौता गरिएको छ । नगरप्रमुख रामकृष्ण खाण, प्रमुख प्रशासकीय अधिृकत नारायण अर्याल, अर्थ मन्त्रालयका सचिव डा.कृष्ण हरि पुस्कर र एडिबीका ‘कन्ट्री डाइरेक्टर’ अर्नाउड कौकोइसबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
एडिबीबाट प्राप्त बजेटबाट ‘अर्बन रेजिलेन्स लाइभ्लीहुड इम्प्रुभमेन्ट परियोजना’ अन्तर्गत ठूला चार वटा योजना संचालन गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी दिए ।
तिलोत्तमाको वडा नम्वर १७ मा पाँच विगाह क्षेत्रफल जग्गामा बहुउद्देश्यीय सुविधायूक्त र आधुनिक चिस्यान केन्द्र, पथ्थरडांडा–तिनाउँ सडक, ड्राइभरटोल–शिवपूर सडक र मधौलिया बिहुली बरौलियाडाँडा हुँदै चिस्यान केन्द्र जोड्ने सडक निर्माण गरिने अर्यालले जानकारी गराए ।
परियोजना कार्यान्वयनमा तत्परता र अग्रसरता, लगानीमैत्री वातावरण, दक्ष जनशक्ति, उच्च पूँजीगत खर्च, प्राप्त बजेट खर्च गर्न सक्ने क्षमता र प्रतिफल दिने दिगो प्रकृतिका योजना संचालन गरेकाले नगरपालिका छनौटमा परेको हो ।