प्यूठान : प्यूठानको झिमरुक गाउँपालिकाको गाँउसभा तथा १५ औं अधिवेशन स्थगित गरिएको छ । अध्यक्ष पित बहादुर महतरा क्षेत्री र उपाध्यक्ष प्रमोद पोख्रेलले आफूखुशी स्रोतै नखुलेको ३ करोड ३१ लाख रुपैयाँ बराबरको बजेट ल्याउन खोजेको भन्दै गाउँसभाका सदस्यहरूले विरोध जनाएपछि गाउँसभा प्रभावित भएको वडा अध्यक्ष दधिराम पोख्रेलले जानकारी गराए ।
‘अध्यक्ष उपाध्यक्षले अनुमानित बजेट ल्याउन खोज्नु भयो’, पोख्रेलले भने, ‘स्रोत नै सुनिश्चितता नभएको बजेटमा सहमती जनाउन सकिएन् ।’ स्रोत नखुलेको बजेटलाई सच्याउन माग गर्दा सुनुवाई नभएको वडा नम्वर १ का अध्यक्ष धुर्वराज खनालले बताए । ‘मनोमानी बजेट बनाएर ल्याउँदा हामीले समर्थन गर्न सक्ने अवस्था भएन्’,खनालले भने, ‘वडालाई सिलिङ दिन आनाकानी गर्ने अध्यक्ष उपाध्यक्षले मनमौजी गर्न खोजे ।’
वडाबाट योजना तर्जुमा गरेका योजनालाई सम्म प्राथमिकतामा नपारिएको उनले बताए । ‘अध्यक्ष उपाध्यक्षले खल्तीबाट योजना बनाउने अनि बजेट हाल्ने कुरामा समर्थन गर्न सकिँदैन’, खनालले भने,‘अध्यक्षद्वारा प्रस्तुत नीति कार्यक्रम समेत सभाले पास भएको छैन् ।’
कार्यपालिका बैठकमा छलफल नै नगराई ल्याईएको बजेटमा सबै वडा अध्यक्षहरुले समर्थन गर्न नसकेको वडा अध्यक्ष सिताराम पोख्रेलले बताए । ‘वडाहरुले सिलिङ लगिसकेपछि बजेट छैन् भनिएको थियो ।’ पोख्रेलले भने, ‘तर एक्कासी विभिन्न योजना बनाएर उहाँहरूले बजेट बनाएको रिपोर्ट पेश गरिरहँदा स्रोत नखुलेको बजेट कसरी पास गर्ने हामीहरूले ।’ स्रोत नखुलेको घाटा बजेटलाई अध्यक्षले कार्यपालिका बैठकमा छलफल नगराएको उनले बताए ।
विधिसम्मत दफावार छलफल गराएर नीति कार्यक्रम तथा बजेट पास गर्ने सवालमा केही वडा अध्यक्षहरुले सहमती नगर्दा गाउँसभा स्थगित गरिएको गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी गराए । ३ करोड ३१ लाखको बजेट सिमाभित्र बनाएका योजनाहरुको बारेमा छलफल गरेको दावी उनले गरेका छन् ।
‘बैठकमा व्यापक छलफल भएको हो’,उनले भने,‘सवै पालिकाले समयमै बजेट ल्याए । तर, हामीले ल्याउन नसक्दा नाजवाफ भएका छौँ ।’ असार २८ गते पुनः सभा बस्ने उनले जानकारी गराए । प्यूठानका नौ स्थानीय तहमध्ये झिमरुक बाहेक सवैले बजेट प्रस्तुत गरेका छन् ।