रुकुम (पूर्व) : सडक पूर्वाधार विकास कार्यालय रुकुम (पूर्व)ले तोकिएकै समयमा योजना सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेको छ । दोमैबाट कोर्जाको भलावटहुँदै भैसेलोटनी दवारे सडक निर्माण गर्ने सनलाईट इञ्जिनियरिङ निर्माण सेवा प्रा.लि. भूमे गाउँपालिका –९ रुकुम (पूर्व)लाई सम्मानित गरिएको हो । बुधवार कार्यालयले एक कार्यक्रमका बीच सम्मानित हुने निर्माण व्यवसायी सविन मगरलाई हौसला स्वरुप कदरपत्रले सम्मान गरिएको कार्यालय प्रमुख इञ्जिनियर विरेन्द्र कँडेलले जानकारी दिए ।
व्यवसायीलाई सम्मानित गर्दै कार्यालय प्रमुख विरेन्द्र कँडेल ।
२०७६ माघ १६ गते ठेक्का सम्झौता भएको सडक निर्माण चालु आर्थिक वर्षको जेठ ३० गतेभित्र सम्पन्न गर्नुपर्ने समयावधि थियो । तर निर्माण व्यवसायीले दुई महिना अघि नै चैत २५ गते काम पुरा गरेका थिए । जारी लकडाउनमा पनि निर्माण व्यवसायीले कामलाई निरन्तरता दिएका हुन् । एक किलोमिटर ६ सय मिटर सडक निर्माणका लागि २१ लाख बजेट विनियोजन भएको कार्यालयले जनाएको छ । ‘समयमै काम गर्नेलाई प्रोत्साहन गर्छौ’,कँडेलले भने,‘तर काम नगर्नेलाई दण्ड गर्ने कार्यालयको नीति छ ।’ उनले काम गर्ने र नगर्ने निर्माण व्यवसायीहरुलाई एउटै धारमा राखेर मूल्यांकन गर्न नहुने बताए ।